चितवनः कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जंगल सफारी लजले असार महिनामा पे नाउ गो लेटर अफरमा तीन सय वटा कोठा बुकिङ्ग गरेको छ । सबै होटल वन्द भईरहँदा यो होटलले नयाँ अफर मार्फत आर्थिक वर्षको मसान्तमा बैंकीङ्ग किस्ता, व्याज लगाएतका खर्च गर्न सहज बनाएको हो ।

होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ गतेबाट ३१ गते सम्म सामाजिक सञ्जाल मार्फत अफर आव्हान गरिएको थियो । आन्तरिक पर्यटक प्रबर्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीहरुले बुकिङ्ग गरेका छन् । बढि संख्यामा बिरगञ्ज देखि बुटवल सम्मका पर्यटक रहेका छन् । पोखरा र काठमाडौंका पर्यटकको संख्या पनि ठूलो रहेको उहाँले जानकारी दिनुभयो । स्थानिय संगै ठाउँठाउँबाट पत्रकार, लेखक, साहित्यकार, व्यवसायी, कर्मचारीहरु, नेपाल प्रहरी, नेपाली सेना लगाएतले सो अफर मार्फत कोठा बुक गरेका हुन ।

यस योजना अन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र रु ४ हजार तिरे पुग्ने छ । अन्य समयमा ती कोठाको मूल्य रु १० हजार पाँच सय हुने गर्दछ । यसको साथै स्विमिङ्ग पुलको सुबिधा पाउने छन् । यस योजना अन्तर्गत होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।

यस योजनामा कोठा बुक गरेकाहरुले आउँदो चैत २८ गते सम्म प्रयोग गर्नु पर्ने घिमिरेले जानकारी दिनुभयो । उत्साहजनक ढङ्गबाट कोठा बुकिङ्ग भएको भन्दै उहाँले यसले आँफुलाई हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “यो योजनालाई देशका प्रमुख पर्यटकीय ठाउँका होटलहरुमा संयुक्त रुपमा लैजानु पर्छ भन्ने सोचको बिकास भएको छ ।” यसले खालि हुने कोठा बुकिङ्ग हुने र अग्रीम भूक्तानी हुँदा सञ्चालनमा सहयोग पुग्ने उहाँको भनाई छ ।

कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस अभियानले केही हद सम्म सहयोग पु¥याउने घिमिरे वताउनुहुन्छ । असारभित्र भौचर लिने ग्राहकमध्ये एक जनाले काठमाडौ–भरतपुर–काठमाडौ हवाई टिकट, एयरपोर्टबाट होटलसम्म गाडीको व्यवस्था, र तीन रात सम्म पेयपदार्थ पुरस्कार स्वरुप पाउने छन् ।

यसरी बुकिङ्ग गरेका धेरैले खाना होटलमानै खाने अपेक्षा गरिएको छ । कोभिड संगै बैशाख १५ गतेबाट बन्द भएका सौराहाका होटल असार २४ गतेबाट आंशिक खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस !