चितवनः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारबाट संकलन गरिएका अण्डा प्रजनन् केन्द्रमा लगेर कोरलिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्ती डाँडी (खोरसोर) लगायतका क्षेत्रबाट २३८ वटा अण्डा संकलन गरिएको थियो । नारायणी नदीको भेलौजी र शिसुवारबाट २१० वटा अण्डा संकलन गरिएको हो । कूल चार सय ४४८ अण्डा संकलन भएकोमा ११ वटा न्याउरीमुसाले खाएको उहाँले जानकारी दिनुभयो ।

ती अण्डा मध्ये १० वटा अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए । त्यहाँबाट सात वटा बच्चा र अन्यबाट २५८ वटा बच्चा कोरलिएका हुन् । कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताउनुभयो ।

वैशाखको पहिलो साता अण्डा संकलन गरिएको थियो । असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन् केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ । राप्ती नारायणी लगायतका नदीमा हालसम्म १ हजार ५१५ वटा गोहीका बच्चा छाडिसकिएको छ ।

पछिल्लो गणना अनुसार नेपालका नदीहरुमा १९८ वटा गोही भेटिएका थिए । पानीको वहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताईन्छ ।

हाल प्रजनन् केन्द्रमा नयाँ बच्चा बाहेक ५०२ वटा गोही रहेका छन् । प्रजनन् केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् । गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजनन् केन्द्रमा १२ वटा वयश्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले बि.सं. २०३५ साल यता रहेको उहाँको भनाई छ ।

राप्ती नदीको दुधौरा क्षेत्रमा १८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिक रुपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिनुभयो । निकुञ्जले केही अण्डालाई प्राकृतिक रुपमा छाडेर केहीलाई प्रजनन् केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोही संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !