चितवन, :चितवनमा कोरोना विरुद्धको खोप भेरोसिल पहिरो मात्रा लगाएकाहरुलाई असार २२ र २३ गते दोस्रो मात्रा दिईने भएको छ । गत जेठ २५ देखि २७ गतेसम्म पहिलो मात्रा भेरोसिल खोप लगाएकाहरुलाई मात्रै दोस्रो खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा खोप लगाएकै केन्द्रमा गएर दोस्रो मात्रा लगाउन सकिने छ । कार्यालयले यस अघि खोप केन्द्र तोकिएकै ठाउँमा पुनः केन्द्र तोकेको छ । उहाँले भन्नुभयो “पहिलो मात्रा जुन केन्द्रमा खोप लगाउनु भएको छ, त्यही केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।”

पहिलो खोप लगाएको कार्ड लिएर सोही केन्द्रमा गएर खोप लगाउन सकिने बताउँदै उहाँले पहिलो मात्रा नलगाएका र अन्य व्यक्तिहरुलाई भने यो खोप लगाउन नमिल्ने जानकारी दिनुभयो । पहिलो मात्रा लगाएकाहरुको संख्याको आधारमा खोप आईसकेको र केन्द्रहरुमा पठाउने काम पनि भईरहेको तिवारीले बताउनुभयो ।

गत जेठ २५, २६ र २७ गते कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप उपलब्ध गराएको थियो । उनीहरुलाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाउने व्यवस्था गरिएको छ । कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको जनाउँदै प्रमुख तिवारीले भन्नुभयो “स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइने छ ।” खोप लगाउन आउनेहरुलाई पनि माक्स लगाई स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !