
चितवनः नेपाली काङ्ग्रेस चितवनले अबिरल वर्षा पछि आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बिहिबार आएको पहिरोमा परि ज्यान गुमाएका दुई जनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताउनुभयो ।
कालिका नगरपालिका वडा नम्बर ११ सिद्धिका ज्ञानवहादुर चेपाङ र राप्ती नगरपालिका वडा नम्बर १२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहात स्वरुप सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घटना प्रति दुःख व्यक्त गर्नु भयो । सिद्धिका ज्ञानवहादुर चेपाङको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पु¥याइने उहाँले जानकारी दिनुभयो । विपदको समयमा उद्धार र सहयोगमा जुट्न समेत श्रेष्ठले सबैलाई अपिल गर्नु भयो । पहिरोमा परि अझै तीन जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षिय छोरा कृष्णलाल, र बुहारी ३० वर्षिया निशा चेपाङ र मोतीलालकी ६ वर्षिया नातिनि रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।