चितवन, : सरकारले ल्याएको ‘राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान’ स्थापना गर्ने नीति बमोजिम कार्यालय भरतपुरमा हुनु पर्ने माग सहित ज्ञापनपत्र बुझाईएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र चितवनका जनप्रतिनिधिको टोलीले शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज ज्ञापन पत्र बुझाएको हो ।

अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेका अनुसार मन्त्री श्रेष्ठ अध्ययन संस्थानको कार्यालय भरतपुरमै हुनुपर्नेमा प्रतिबद्ध हुनुहुन्छ । मन्त्री श्रेष्ठले “भरतपुर हुनुपर्नेमा भक्तपुर हुन गएको हो कि ?” भन्ने आफूलाई लागेको बताउनु भएको न्यौपानेले जानकारी दिनुभयो । यस सम्बन्धमा बुझेर प्रक्रिया अगाडि बढाउने मन्त्री श्रेष्ठको भनाई थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठलाई बुझाईएको ज्ञापनपत्रमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको इतिहास, साधन स्रोत, जनशक्ति, जग्गाको उपलब्धता लगायतको विषय प्रष्ट पारेर बुझाईएको छ । ज्ञापनपत्रमा भरतपुर सबै किसिमले केन्द्र भागमा रहेको र अस्पतालको ऐनमा अध्ययन, अनुसन्धान र उपचारलाई अघि बढाउने उल्लेख रहेको जनाईएको छ ।

न्यौपानेले कान्तिपुर हेल्थलाई भन्नुभयो “हाम्रो माग पनि यस अस्पताललाई अध्ययन संस्थान बनाउने नै हो । सरकारले हाम्रो मागको सुनुवाई गरेको छ । प्राविधिक रुपमा भरतपुर हुनुपर्ने कार्यालय भक्तपुर हुनु गएको छ ।” यसलाई जसरी पनि भरतपुरमै ल्याउनु पर्ने उहाँको भनाई थियो ।

टोलीमा क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.निर्मल लामिछाने, एमाले नेताहरु काशीनाथ अधिकारी, कृष्णभक्त पोखरेल, पार्वती रावल, अस्पतालका निर्देशक डा.देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, सञ्चालक सदस्य न्यौपाने सहभागी हुनुहुन्थ्यो ।

सरकारले बजेट वक्तव्य मार्फत् क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने जनाएको छ । भक्तपुर क्यान्सर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययनन संस्थान मातहत सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त घोषणा अनुसार भक्तपुरमा उक्त संस्थान रहने गरी प्रक्रियाा अगाडि बढाईएको छ । संस्थान भक्तपुरमा नभई भरतपुरमा रहनु पर्ने जनाउँदै ज्ञापनपत्र बुझाईएको हो ।

प्रतिक्रिया दिनुहोस !