चितवनः वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महंगो मध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौं आम्दानी गर्नेहरुले पनि लिंदै आएका छन् ।
राज्यका तर्फबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि निजी क्षेत्रबाट हुने करोडौं आम्दानीलाई भने नियमले छोएको छैन । सेवा निवृत्त पेन्सन बुझ्नेहरुले यस्तो सुविधा नपाउने भए पनि निजी क्षेत्रमा व्यापार व्यवसाय गर्ने धनाढ्यहरुलाई भत्ता लिन कानुनी अड्चन छैन ।
भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ क्षेत्रमा पर्ने वडा नं. ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले भन्नुभयो “जति नै धनी भए पनि सामाजिक सुरक्षा भत्ता लिन्न भन्ने कोही छैन ।” बच्चा लिएर एक व्यापारी मर्सिडिज कारमा आफ्नो कार्यालयमा छोराको पोषणा भत्ता लिन आएको प्रसंग उल्लेख गर्दै उहाँले थप्नुभयो “हामीलाई सामाजिक सुरक्षा भत्ता चाहिंदैन भनेर उदारता देखाउने भेट्नै मुस्किल छ ।”
नारायणगढमै पर्ने वडा नं. १ का सचिव मधुराम दुवाडी राज्यले सामाजिक सुरक्षा भत्ता शीर्षकमा दिएको सुविधा नारायणगढकी समाजसेवी मैयाँदेवी श्रेष्ठ र महेश्वरलाल श्रेष्ठ बाहेक आफ्ना वडाका कसैले लिन्न नभनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “महेश्वरलाल श्रेष्ठ लिन्न भन्नुहुन्थ्यो, उहाँ वितेर जानुभयो, मैयाँदेवीले म लिन्न नहुनेलाई दिनुपर्छ भन्नुहुन्छ ।”
जिल्लामा अधिकांश सरकारी कार्यालय रहेको सम्पन्न क्षेत्रका रुपमा परिचित महानगरको वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारीले सबैले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “पेन्सन हुनेले पाउँदैनन्, अरुले म लिन्न भनेर कसैले भन्न आएका छैनन् ।”
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफूले चिनेजानेका र परिवारका सदस्यलाई सामाजिक सुरक्षा भत्ता नलिन अनुरोध गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सम्पन्नहरुले राज्यबाट प्राप्त हुने यस्ता सुविधा लिनु उचित हुँदैन ।” राष्ट्र बैंक मार्फत् दिईने व्याजको सहुलियत रकम समेत सक्नेले लिन नहुने तर्क राख्दै उहाँले थप्नुभयो “जसले सक्दैन, त्यसलाई सहयोग गर्नुपर्छ ।”
भरतपुर महानगरपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम हेर्नुहुने तुलसीप्रसाद श्रेष्ठका अनुसार राज्यले ७० वर्षमाथिका सबै जेष्ठ नागरिकलाई मासिक रु. ३ हजार दिंदै आएको छ । यो रकम आउँदो साउन १ गतेबाट रु.४ हजार हुँदैछ । यस्तै दलित जेष्ठ नागरिकले ६० वर्ष कटेपछि मासिक रु.२ हजार पाउँछन् । एकल महिलाले रु.२ हजार, दलित बालबालिकाले पोषण भत्ता वापत रु. ४ सय र पूर्ण अपाङले रु.२ हजार एवं आंशिक अपाङ्गले रु.१ हजार ६०० मासिक भत्ता पाउँछन् । यी भत्तामा आउँदो साउन १ गतेबाट ३३ प्रतिशतले बृद्धि हुँदैछ ।
भरतपुर महानगरमा मात्रै वार्षिक रु.६९ करोड हाराहारी सामाजिक सुरक्षा भत्ता वितरण हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भत्ता लिन नचाहनेहरुले पालिकामा स्वयं घोषणा गरेमा उनीहरुलाई पुरस्कृत र सम्मान गरेर सार्वजनिक गर्ने व्यवस्था समेत रहेको छ । यद्यपी हालसम्म महानगरमा स्वयं घोषणा गर्न कोही नआएको उहाँले बताउनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार जिल्लाका सात पालिकामार्फत् वार्षिक रु.१ अर्ब ४८ करोड ४७ लाख निकासा हुँदै आएको छ । यो रकम आउँदो वर्ष ३३ प्रतिशतभन्दा बढी थपिने छ ।