
काठमाडौँ, : भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्।
बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई धरौटीमा छाड्न आदेश दिएको हो।
बाँके जिल्लाका अदालतका स्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड भएको थियो।
अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो।