सुर्खेतः नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको आज बिहान निधन भएको हो । जेठ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएका उहाँ प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा भर्ना भई पछि काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ५ बजे निधन भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।
उपचारका क्रममा विष्टको आज बिहान निधन भएको उहाँका भाइ दल विष्टले जानकारी दिनुभयो । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य रहनुभएको थियो ।
विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बन्नुभएका उहाँ पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन् । उहाँ सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित हुनुहुन्थ्यो ।