काठमाडौंः कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेर गएको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ । अझै केहीदिन देशका अधिकांश भागमा अविरल वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले पनि अझै केही दिन बाढी, पहिरो र डुबानजस्ता प्रकोपको सम्भावना देखिन्छ ।

यस्तो अवस्थामा कोरोनासँगै अन्य विभिन्न प्रकारका सरुवा रोग फैलने खतरा बढ्ने संक्रामक रोग विज्ञ डा. जनक कोइरालाले बताउनुभयो ।
मंगलबार सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची नगरपालिकामा ४ सयभन्दा बढी स्थानीयवासी नजिकैको इन्द्रेश्वर माविमा बसेका छन् । यसरी बाढीपहिरोका कारण घरबाहिर सामूहिक रुपमा अस्थायी बसोबास गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम हुनुका साथै अन्य सरुवा रोगको समेत जोखिम रहने उहाँले जानकारी दिनुभयो ।

बाढी, पहिरो तथा डुबानमा परी अस्थायी शिविरमा सामूहिकरुपमा केही समय बस्ने नागरिकलाई शुद्ध पानी र शौचालयको व्यवस्था नभएको खण्डमा पानीजन्य रोग फैलिएर अर्को समस्या सिर्जना हुन सक्ने उहाँको भनाइ छ । यसैगरी खानपान र सरसफाइमा विशेष ध्यान नदिए स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका समस्या देखिने सम्भावना वढि हुन्छ ।

‘बाढी, पहिरोका कारण केहीको उठीबास भएको छ भने केहीको धनजन दुवै क्षति भएको छ,’ उहाँले भन्नसभयो, ‘मानसिक रुपमा चिन्तित भएका बेला सामूहिक रुपमा बस्दा सरसफाइ र खानपानको ख्याल गरिएन भने स्वास्थ्यमा ठूला समस्या निम्तिन सक्छ ।’

बर्खाको समयमा किटजन्य तथा पानीजन्य रोगको उच्च जोखिम उच्च हुने उहाँले बताउनुभयो । बाढीपहिरो प्रभावितहरु सामूहिक रुपमा बस्दा खानेकुरा, पिउने पानी र सरसफाइमा ध्यान पु¥याउन नसकेको खण्डमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपटाइटिस, डेंगी, स्क्रब टाइफस र हावाबाट सर्ने विभिन्न किसिमका रोगको सिकार बन्न सकिने भएकाले सचेत रहन उहाँले सुझाब दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !