चितवनः कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ जना कैदी बन्दी थपिएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४ जना, ६३ जना चितवन जिल्ला अदालतबाट र एक जना मकवानपुरबाट कैद सजाय र पुर्पक्षका लागि पठाईका हुन ।

कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो संख्यामा कैदी बन्दी थपिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा चितवनका मध्ये लागु औषधका २३ जना, जवर्जस्तीकरणीका १४ जना, सवारी ज्यान मुद्दामा १२ जना, चोरी मुद्दाका ७ जना रहेका छन् । यस्तै खोटा चलानका ४ जना, काठ तस्करका तीन जना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका २÷२ जना, जिउ मास्ने बेच्ने १ जना र गैंडा तस्कर एक जना रहेका छन् ।

यस्तै नवलपुर जिल्ला अदालतबाट आएका मध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागुऔषध मुद्धामा ४ जना, जवर्जस्तीकरणीमा ३ जना, सवारी ज्यानमा २ जना, बहुविवाहका २ जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ् कसुर, भ्रष्टाचार र डाँका मुद्दाका १÷१ जना रहेका छन् ।

मकवानपुरबाट लागुऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समय अवधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ जना र अन्य कैद भूक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।

यस समयमा कारागार आएका कैदीबन्दीहरुलाई कारागार भित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालय चितवनमा ६ सय ७५ कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला वन्दी गृहमा ५२ जना र २ सय ५५ जना पुरुष बन्दी गृहको क्षमता रहेकोमा ६ सय २३ जना कैदी बन्दी रहेका छन् । कारागारमा तीन जना आश्रित बालिकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !