चितवनः चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैंडा रहेको पाईएको छ । हालै सम्पन्न राष्ट्रिय गैंडा गणनाको तथ्यांक अनुसार पश्चिमी क्षेत्रमा धेरै गैंडा भेटिएका हुन् ।

गैंडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्यांक अनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैंडा भेटिएका हुन् । पूर्वतर्फ यो संख्या २६५ मात्रै रहेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैंडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै संख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् ।

यस वर्षको गणनामा निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका थिए । पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैंडाको राम्रो बसोबास रहेको पाईएको छ । जहाँ ९५ वटा गैंडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैंडा गणनाका क्रममा भेटिएका हुन् ।

त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैंडा भेटिएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैंडा भेटिएको अधिकारीले जानकारी दिनुभयो । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैंडा भेटिएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैंडाको संख्या बढी भएको बताउनुभयो । भारततर्फ जान सक्ने टेम्पल टाईगर, भेलौजी, सेरी, धजाहा, बगुवन लगायतका क्षेत्रमा एक सयभन्दा बढी गैंडा रहेको तथ्यांकमा देखिएको छ । ती क्षेत्रमा धेरै गैंडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाई छ ।

त्यहाँबाट भारतर्फ गैंडा जान सक्ने भएकाले ती गैंडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानु पर्ने बरालले बताउनुभयो । गणना अघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैंडालाई पूर्वमा ल्याउनु पर्ने बताउँदै आएका थिए ।

केही वर्ष अघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैंडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याईएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ । गणनाका क्रममा ४७४ वटा बयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैंडा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस !