
चितवनः भरतपुर महानगरपालिकाको अगुवाईमा विभिन्न संघ संस्थाको सहयोगमा कोरोना संक्रमणका कारण मृत्यु भएका १५० जनाको दाहासंस्कार गरिएको छ । महानगरसँगै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको कालिबहादुर गण, देवघाट क्षेत्र विकास समिति, लायन्स क्लब, नेपााल वन पैदावर व्यवसायी महासंघ चितवन लगायतको सहयोगमा निःशुल्क दाहसंस्कार गरिएको हो ।
महानगरले निःशुल्क शव वाहन, दाउरा र एक्साभेटर उपलब्ध गराएको छ । नेपाली सेनाले अस्पतालबाट दाहसंस्कार स्थलसम्म शव लगेर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । देवघाट क्षेत्र विकास समितिले दाहसंस्कार स्थल नजिक दाउरा ल्याएर एउटा शवका लागि रु.पाँच सय छुट गरेको छ ।
यसैगरी लायन्स क्लबले एउटा शव वाहन निःशुल्क उपलब्ध गराएको छ । नेपाल वन पैदावर व्यवसायी महासंघले आवश्यक दाउरा उपलब्ध गराएको छ ।
महानगरको आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार जेठ ६ गतेदेखि हालसम्म यहाँका अस्पतालमा मृत्यु १ सय ४६ जनाको शव जलाईएको र ८ जनाको शव गाडीएको छ । जलाईएका मध्ये ४ जनाको परिवारले मृतकलाई भार लाग्ने भन्दै दाहासंस्कार खर्च आफै तिरेका छन् ।
उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएको परिवारका लागि महानगरले एक चट्टा दाउरा, शव बोक्नका लागि शव वाहन र खाल्डो खन्नका लागि स्काभेटरको व्यवस्था गरेको हो ।
कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको शब व्यवस्थापनमा ठूलो रकम तिर्नु परेको गुनासो आएसँगै जेठ ५ गते महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सङ्क्रमितको शव व्यवस्थापनमा सहयोग गर्नका लागि महानगरलाई जिम्मा दिएको थियो । यस अघि एउटा शवको लागि रु १९ हजारदेखि २८ हजारसम्म मृतकका परिवारले तिर्न बाध्य भएका थिए । हाल अन्त्येष्टि गर्ने मानिसको अभाव भएमा केही रकम दिएर सहयोग लिनुपर्ने भए पनि मृतकका आफन्त भएको अवस्थामा दाहसंस्कार निःशुल्क भएको छ ।
महानगरले दाउरा किन्न रु ३ हजार दिने गरेको छ । सो अनुसार महानगरले शबको दाहासंस्कारका लागि रु ४ लाख २६ हजार बराबरको दाउरा खरिद गरी मृतकको दाहासंस्कार गरेको हो ।
यहाँका अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितहरु मध्ये आधाभन्दा बढी जिल्ला बाहिरका रहेका छन् । बिभिन्न अस्पतालमा अहिले ३ सय १९ जनाको उपचार भईरहेको छ । जस मध्ये सघन उपचार कक्षमा १ सय ४३, एचएफएनसिमा ३०, एचडियुमा ४३ र आइसोलेसनमा १ सय ३५ जनाको उपचार भईरहेको छ । ती मध्ये चितवनका १ सय ४४ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण २ सय ३० जनाको मृत्यु भईसकेको छ ।
अहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरुको भरतपुर महानगरपालिका वडा नम्बर १ बागेश्वरी नजिक नारायणी नदी किनारमा दाहासंस्कार गरिंदै आएको छ ।