काठमाडौँ ,: स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । खेलको निर्धारित समय १-१को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

त्यसमा पनि गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको हो । खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । ५५औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टी सुटआउटमा दुवै टोलीले सुरुवाती लगातार १०-१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले पनि सडन डेथमा प्रहार गर्नुपरेको थियो ।

एघारौं प्रहारमा भिल्लारियलका गोलरक्षक जेरमिनो रुल्लीले गोल गर्न सफल भए तर, युनाइटेडका गोलरक्षक डेविड डी जिया चुके । उनको प्रहार भिल्लारियलका रुल्लीले बचाए । योसँगै भिल्लारियल क्लब इतिहासमा पहिलो पटक युरोपा लिग च्याम्पियन बन्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस !