
आज जेठ ३ गते मदन भण्डारी स्मृति दिवस, नेपाली राजनीतिज्ञमध्येका एक शिर्ष पात्र । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने ब्यक्ति वास्तवमै नेपालमा कम्यूनिष्ट आन्दोलन माटोसुहाउदो स्थापना गर्न प्रयत्नशील ब्यक्तिका रुपमा लिने गरिन्छ ।
२००९ साल असार १४ गते पूर्वी नेपालको तप्लेजुङमा जन्मेका भण्डारीको निधन २०५० जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा रहस्यमय रुपमा सवारी दुर्घटनामा भएको थियो । नेपालका कम्यूनिष्ट नेताहरुमा विचारको माध्यमबाट कम्यूनिष्ट आन्दोलनलाई समाजबादको बाटोबाट साम्यबादमा अवतरण गराउने मार्गचित्र वास्तवमा मदन भण्डारीमा स्पष्ट देखिन्थ्यो । जसलाई बहुदलीय जनवादका माध्यमबाट देशमा समाजवाद हुँदै साम्यवाद रुपान्तरण गर्न शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका भन्डारीको सपना आजका कम्यूनिष्टहरुले कति हदसम्म सफल गराउन सक्षम भए त जनताले मूल्यङ्कन गर्ने बेला आएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी )जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो।
नेपालमा कम्युनिस्ट आन्दोलनलाई नया विचार दिएर बैचारिक आन्दोलनले नै नेपालमा साम्यवादको बाटो तय गर्न सकिने मनशायका साथ आफ्नो छोटो जीवनकालमा ठूलो योगदान दिने भण्डारीको विचारलाई मुकाममा पुर्याउन आजका कम्युनिस्टहरू कति सफल भए , आज कम्युनिस्टहरू मदन भण्डारीको मार्गचित्रमा परेका शान्तिपूर्ण कम्यूनिष्ट आन्दोलनको समाजवादबाट साम्यवादसम्मको यात्रामा कुन विन्दुमा अल्मलियो स्पस्ट देखिदैन ।
यतिखेर मदन भण्डारीले परिकल्पना गरेको पार्टी सत्तामा छ । यो भन्दा पनि जननेता मदन भण्डारीकै धर्मपत्नी राष्ट्र प्रमुख भएको बेला छ , यो भन्दा अनुकूल र उपयुक्त समय भणडारीका सपनाहरुलाई सकार पार्ने कुन हुन सक्ला ? बिडम्वना आाजसम्म मदन भण्डारीको रहस्यमय सडक दुर्घटनामा हेरिएको रहस्यलाईसमेत साक्षात्कार गर्न सकेको देखिदैन ।
मदन भण्डारीको षडयन्त्रपूर्ण रुपमा रहस्यमय सडक दुर्घटनामा निधन भएको आज २८ वर्ष पूरा भएको छ तर भ्णडारीले स्थापना गरेको जनताको बहुदलीय जनवादको यात्रामा आजको सत्ताशीन नेकपा एमालेले कुन कोणबाट अङ्गिकार गरेको छ आज जनताले प्रश्न गर्न पाउने कि नपाउने ? मदन भण्डारीका सपनाहरु साकार भए या भएनन् यसको समीक्षा हुने कि नहुने ? सत्तालोलुप्त आजका कम्यूनिष्टहरले मदन भण्डारीका भावनाअनुरुप कार्य गर्न सफल भए या भएनन् यसको समीक्षा जनताले गर्नु जरुरी छ ।
खोलो तर्यो लौरो विर्स्यो भनेझै आज नेकपा एमालेले मदन भण्डारीको योगदानलाई चटक्कै बिर्सेको देखिन्छ । आजसम्म मुखले मात्रै मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई भज्याएर सत्तासम्मको यात्रा तय गरेको नेकपा एमालेले भन्डारीको पार्टीप्रतिको योगदानलाई भुलेर उनको सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्नु आजका कम्यूनिष्ट नेताहरुको ठूलो कमजोरी हो ।