
चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि प्रमुख नारायण वन,उपप्रमुख विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै अएका गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।
कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफु चढ्दै आएको सहित चारवटा गाडी सङ्क्रमितका लागि प्रयोग गर्ने घोषणा गर्नु भएको हो । प्रमुख वनले चढ्दै आएको बा.२ झ ३३९९,उपप्रमुख दुवाडीले चढ्दै आएको ना.१ झ १५८६,प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा.१२ च.२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा.२ झ १२१७ नम्बरको गाडी कोरोना सङ्क्रमितलाई घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
अब हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दै छौं वनले भन्नुभयो “कोही पनि नगरबासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।” वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गनुभएको छ ।
सङ्क्रमितलाई छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उहाँको भनाई छ । यस अघि रत्ननगरले कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ । होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।