नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

काठमाडौँ, : नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ ।

विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो ।

खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सक्नुभएन । यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोक्नुभयो ।

विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभयो । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गर्नुभयो । जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ । (रासस)

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer