
काठमाडौंः सभामुख अग्नि प्रसाद सापकोटाले नयाँ वर्ष प्रारम्भसँगै राजनीतिक दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उनले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेकोमा जोड दिनुभएको हो ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले भन्नुभएको छ “मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।”
दलहरुभित्र विधिलाई लोकतान्त्रिक र पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा उहाँले गर्नुभयो ।
उहाँले संसदलाई जनमुखी बनाउन सबै खाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।“अग्रगामी निकासका लागि हाम्रा बीचमा दृढ संकल्प आवश्यक छ । प्रतिबद्धताहरु व्यवहारमा देखिएमात्रै विश्वासको आधारशिला तयार हुने छ, ।” सभामुख सापकोटाको सन्देशमा लेखिएको छ, “संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सभामुख सापकोटाले अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैमा अपीलसमेत गर्नुभयो ।