चितवन, : नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशले बिखण्डबादको बिकल्प खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य स्व. नविन्द्रराज जोशीको सातौ दिनको पूण्यतिथिमा देवघाटमा आयोजीत अस्तु बिसर्जन एबं श्रद्धान्जली समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले देश बिखण्डको धारमा गएकाले यसको रक्षाका लागि बिकल्पको खाँचो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले बिखण्डनको धारणा राख्नेहरुको बिकल्प दिएर अघि वढ्नुपर्छ ।” अहिले देशलाई, लोकतन्त्रलाई जोखिममा पार्ने र पहिचान, संस्कार मेटाउने काम भएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “देशमा अहिले अनिर्णयको कालो वादल छाईरहेको छ । लोकतन्त्रमाथी अनिष्ट हुने खतरा छ ।” अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अबस्थामा पुगेको उहाँको भनाई थियो । अहिलेका शासकहरुले लोकतान्त्रीक उपलव्धिलाई कहाँ पुयाउँछन र कुन खाल्डोमा हाल्छन् भन्ने चिन्ता आँफुमा रहेको उहाँले बताउनुभयो ।

अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर बिखण्डनको धारणा राख्नेहरुलाई बिकल्प दिनुपर्ने उहाँको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योज्ञ र इमान्दार नेताको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जोशी एक योज्ञ र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पदपुर्ती कसरी गर्ने ।” काङ्ग्रेसले एक कुशल नेता गुमाउनु परेकोमा दुःख लागेको पौडेलले बताउनुभयो । नेता जोशीले देश र जनतालाई आँफुभन्दा माथि राख्दै काम गरेको बताउँदै उहाँले जोशीको समर्पणलाई पुरा गर्नु काङ्ग्रेसको जिम्मेवारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधिश १००८ स्वामी आत्मानन्द गिरिजि महाराज, गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्ब मन्त्री यज्ञ वहादुर थापा, तनहु काङ्ग्रेसका सभापति बैकुण्ठ न्यौपाने, नवलपुरका सभापति बिष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङ्का सभापति रमेश धमला लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम पश्चात नेपाली काङ्ग्रेसका बरिष्ठ नेता सहितको उपस्थितिमा स्व. जोशीको अस्तु उहाँका दाजु राजुराज जोशीले देवघाटको वेणी संगममा बिसर्जन गनुभएको छ । स्व. जोशीको आमाको चाहना अनुसार अस्तु देवघाटमा बिसर्जन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !