
काठमाडौँ, : प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उहाँले दिनुभयो ।
मौसमविद् पौडेलले भन्नुभयो, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।