काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि छलफल चलेको छ । कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच बैठक भएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादीमा फर्काइदिएपछि पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर छुट्टिएका नेताहरूबीच यसबीचमा बैठक र छलफल भने चलिरहेका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड शुक्रबार न्यायिक पुनरावलोकनमा जाँदैछन् । यसका लागि माधव नेपालनिकट वरिष्ठ अधिवक्ता शम्भु थापाले पुनरावलोकनको फिराद लेख्नेलगायतका सबै काम गरिरहेका छन् ।

एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ । यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना बितिसक्दा पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस अग्रसर नभएपछि प्रचण्ड(माधव पक्ष झस्किएको छ । विदेशी शक्तिले कांग्रेस र जसपालाई ओली हटाउनबाट रोकेको आशंका प्रचण्ड(माधवको छ ।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेको दिन चितवनमा रहेका प्रचण्ड र माधव नेपाल फागुन १२ गतेको आमसभा छाडेर काठमाडौं फर्की सीधै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि उनी हतारिएनन् । त्यसैबीचमा एमाले र माओवादी ब्युँतिएपछि प्रचण्ड(माधव पक्ष कमजोर बनेको छ । देउवाले सरकार परिवर्तनका लागि अग्रसरता लिएका छैनन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले निर्णय नगरेको अवस्थामा देउवा सत्ता समीकरणको खेलमा नलाग्ने भएका छन् । माओवादी भने अविश्वास प्रस्तावमा कांग्रेस जसपा तयार नभएसम्म समर्थन फिर्ता लिँदा केपी ओली झन् बलियो बन्ने आशंकाले रोकिएको छ ।

माधव नेपाल पक्षले ओलीलाई सत्ताबाट हटाउन सक्दा एमालेमा उनको प्रभाव कम गर्न सकिने भएकाले अविश्वास प्रस्तावमा जसपालाई सहमत गराउन प्रयास गरिरहेको छ ।

यसबीचमा प्रचण्ड र माधव नेपालबीच पटक(पटक छलफल भए पनि विपक्षी दलहरू ओली हटाउन तयार नहुँदा संकटमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस !