चितवनः युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिंदै आउनुभयो । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका गौतम अहिले पनि बुबाले शुरु गरेका व्यवसायलाई विस्तार गर्दै अगाडि बढ्नु भएको छ ।

बुबा नारायणप्रसाद गौतमले बि.सं. २०२७ सालमा शुरु गर्नुभएको किराना व्यवसायबाट विस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आईपुगेको छ । अहिले किराना बाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ । जसलाई छोरा गौतमले साथ दिंदै आउनु भएको छ ।

चितवनका युवा व्यवसायी गौतम भन्नुहुन्छ “मैले सानै उमेरदेखि बुबालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु ।” उहाँले बाबुले शुरुवात गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो “शुरुवात बुबाले गर्नुभयो, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो ।” बुबाकोभन्दा फरक व्यवसाय गर्नु परेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उहाँको भनाई छ ।

कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उहाँहरुको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरी बिक्री वितरण हुने गरेको छ ।

बि.सं. २०४३ सालमा नारायणगढ बजारमा खाजा घरको रुपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भईसकेको छ । विष्णुप्रसाद सापकोटाले शुरु गर्नुभएको यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लैजानु भएको छ । गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लाग्नु भएको हो । बुबाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहनु भएको छ ।

उहाँले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रीत भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि बिस्तार भएको छ । शाकाहारी भोजनालय र मिठाईका लागि ख्याती कमाएको बैष्णवले अहिले प्याकिङ मिठाई उत्पादन शुरु गरेको छ । नम्किन, सोनपापडी, रसवरी, लालमोहन जस्ता मिठाई उत्पादन गरी देशका प्रमुख शहरहरुसम्म पु¥याईएको छ । कृष्णले भन्नुभयो “अहिले हामीले मिठाईलाई देशैभरी पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौं ।”

बाबुको मिहिनेतसँगै स्थापना भएको बैष्णब ब्राण्डलाई कृष्णले देशव्यापी बनाउन सफल हुनु भएको छ । बुबाकै कारण आफूलाई व्यवसाय विस्तारमा सहज भएको उहाँको भनाई छ ।

बि.सं. २०३६ सालमा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय शुरु गर्नुभएका ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आउनु भएको छ । आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले बि.सं. २०५५ साल यता नेतृत्व गरेर बाबुको पेशा सम्हालेको बताउनुभयो ।

लामिछाने विद्युत सप्लायर्सका नामबाट शुरु भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसाय लगानी समेत गर्नुभएको छ । आर्शिवाद समूहका पार्टस्, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उहाँको लगानी छ । उहाँले भन्नुभयो “सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ ।” बाबुले शुरु गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उहाँको भनाई छ । लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरी पुग्ने गरेको छ ।

चितवनमा ख्याती कमाएको कर्मा रेष्टुरेण्टको सञ्जाल विस्तार भईरहेको छ । बाबु दुर्गादत्त अधिकारीले नारायणगढमा शुरु गरेको व्यवसाय छोरा अमित र अविनाषले विस्तार गरिरहनु भएको छ । अहिले काठमाण्डौंको चावहित र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ । केहीदिनभित्रै भरतपुरमा अर्काे शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ ।

सौराहामा होटल व्यवसाय गर्दै आउनु भएका सुमन घिमिरेले बाबु हरिक्तभक्त घिमिरेले शुरु गर्नुभएको व्यवसायलाई विस्तार गरेर अगाडि बढ्नु भएको हो । उहाँले भन्नुभयो “बुबाले शुरु गर्नुभएका कारण आफूले धेरै मिहिनेत गर्नु परेन ।” युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रिय रुपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ । जंगल सफारी लजको नाममा सञ्चालित होटलमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाई बन्ने गरेको छ । उहाँले भन्नुभयो “सेवाग्राहीको चाहना अनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ ।”

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबु बाजेको पेशा नअंगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अंगाल्दै आएको बताउनुभयो । कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समय सापेक्ष परिस्किृत गर्दै अंगाल्नेहरुलाई सफलता मिलेको उहाँको भनाई छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल बाबुले गर्दै आएको व्यवसाय छोराहरुले सम्हाल्दै आएको बताउनुहुन्छ । बाबुको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उहाँले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !