चितवनः नेपाल प्रहरीको बागमती प्रदेशको आयोजनामा आज यहाँ लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक एबं सांगितिक धुन प्रस्तुत गरिएको छ । तालिम प्राप्त नेपाल प्रहरीले लागु औषध प्रयोगबाट सिंगो परिवार र समाजमा हुने प्रभावलाई नाटकका माध्यमबाट प्रस्तुतीकरण गरेका थिए ।

बागमती प्रदेश कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरीले यहाँबाट सुरु भएको सडक नाटक प्रदेश अन्तर्गतका राजधानी बाहिरका अन्य ९ जिल्लामा पनि देखाइने बताउनुभयो । समुदायमा तत्काल प्रभाव पार्न सक्ने भएकाले सडक नाटक गरिएको उहाँको भनाई थियो । सामुदायीक प्रहरी मार्फत समाजमा लागुऔषध नियन्त्रणमा काम भइरहेको चौधरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले जिल्लामा लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताउनुभयो । समुदायसंग मिलेर काम गरिएको भन्दै उहाँले लागुऔषधलाई व्यापारको रुपमा प्रयोग गर्नेहरुलाई नियन्त्रणमा लिइ कारवाही प्रकृया अघि वढाएको जानकारी दिनु भयो ।

सडक नाटकका बिषयमा प्रकाश पार्दै प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक अच्यूत गिरिले यस नाटकबाट लागुऔषध प्रयोगबाट भविश्य अन्यौल भएको, प्रयोग कर्तालाई प्रहरीले निगरानीमा राखेको, प्रयोग गरेमा कानुनी कारवाही हुन्छ भन्ने सन्देश दिएको बताउनुभयो । यस संगै सार्वजनिक स्थल र यातायातमा लैंगिक हिंसा गर्नेहरुलाई प्रहरीले निगरानी गरिरहेको पनि सन्देश दिइएको बताउनुभयो ।

सांगितिक धुनले तनाव न्यूनिकरणमा सहयोग पुग्ने उहाँको भनाई थियो । गिरिका अनुसार नेपालमा ६ लाख लागुऔषध प्रयोगकर्ता रहेका छन् । वर्षेनी यो संख्या ३० हजारले थपिने गरेको भन्दै उहाँले ९ हजार भन्दा वढिको मृत्यु हुने गरेको बताउनुभयो । जसमध्ये १२ प्रतिशत महिला रहेका छन् । प्रयोगकर्ताहरु मध्ये २ लाख ५० हजारलाई तत्काल उपचार आबश्यक भए पनि नेपालमा चार हजार क्षमताको पुर्नस्थापना केन्द्र मात्र रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !