चितवनः जिल्लामा चैते धान रोप्न कृषकहरु व्यस्त रहेका छन् । पूर्बी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषकहरु यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन ।

कृषि ज्ञानकेन्द्रका भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्छ । जसमा गत वर्ष ३९ हजार मेट्रिकटन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका सूचना अधिकारी माधब पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैते धानको रोपाई सकीएको छ । बिशेषगरी यो समयमा हर्दिनाथ १, पिआर, चैते ५ लगाएतका धान लगाइने गरिन्छ ।

फागुनको अन्तिम साताबाट चैतको तेस्रो साता सम्म चैते धान रोपाई हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिए पछि अहिले कृषकहरुले धानको बिउमा परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गत वर्ष हर्दिनाथ १ मा घाँटी मरुवा रोग देखियो । यस वर्ष कृषकहरुले चैते ५ धानको बिउ बढि प्रयोग गरेका छन् ।”

धान रोपाईमा कृषकहरुले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उहाँका अनुसार अहिले पूर्वीम चितवनका दुई वटा सहकारीमा आवद्ध कृषकले मेसिनबाट धान रोपाई गरेका छन् । सानाकिसान कृषि सहकारी संस्था लि खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाई गरेका हुन ।

मेसीनले १० विगाह क्षेत्रफलमा धान रोपाई गरिने उहाँले जानकारी दिनुभयो । चैतमा लगाइएको धान जेठको अन्तिम साता देखि असारको पहिलो साता सम्म कृषकले थन्काई सक्ने गर्दछन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोनका संयोजक तेज प्रसाद बतौलाले अहिले नहरमा प¥याप्त मात्रामा पानी नहुँदा धान रोपाइमा समस्या भएको बताउनुभयो । परियोजनाले बछौलीमा १९ वटा, कुमरोजमा २८ वटा र कठारमा ३ वटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उहाँको भनाई छ ।

धान रोप्नका लागि खेताला नपाउने समयमा मेसीनको प्रयोग प्रभावकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“विउ राख्नका लागि केही झन्झट भए पनि रोपाईका लागि मेसीनले सहयोग गर्ने रहेछ ।”

प्रतिक्रिया दिनुहोस !