चितवनः वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुने भएको हो ।

चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्याराफिट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । प्याराफिट ३ हजार दर्शक क्षमताको हुनेछ ।

खेलाडी र खेलाडीको परिवारको साथमा संघ सधैं छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । फुटबलमै लामो समय बिताएका बिजय खड्गीको निधनले संघ निकै मर्माहत भएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बिजयलाई सम्झिदै उनी केही बेर भावुक समेत भएका थिए । २०७५ सालमा आफु जिल्ला फुटबल संघको अध्यक्षमानिर्वाचित हुँदा बिजयले फोन मार्फत बधाई र शुभकामना दिएको क्षण सम्झिदै कार्की भावुक भएका हुन् । उनलाई शुभकामना दिएको केही दिनमा नै बिजयको निधन भएको थियो ।

प्रतियोगिताबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गरिने उनले बताए । ूआफ्नो जीवन नै फुटबलमा सुम्पिएका खेलाडी र उनको परिवारको साथमा संघ छ है भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरेका हौं उनले भने, यसबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गर्छौं ।ू यस्ता प्रतियोगिताले खेलाडीलाई खेलमा लाग्न प्रेरित गर्ने उनको विश्वास छ । चितवनले यसको सुरुवात गरेको भन्दै उनले देशभर नै यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिनुभयो ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कार्यक्रममा पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले बिजयको उत्कृष्ट ड्रिब्लिङ क्षमता प्रशंसा गर्नुभयो । आफ्नो समयमा उनी ड्रिब्लिङकै लागि प्रख्यात रहेको उहाँले बताउनुभयो । एन्फामा पनि उहाँले राम्रो छाप छोडेका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । बिजयको एक छोरा छन् ।

प्रतियोगितामा ए डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले बताउनुभयो । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०(१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ ।

प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल (वाइबी) ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताउनुभयो । उअन्ले अहिले पनि फुटबलका बिभिन्न गतिविधिमा सेन्ट्रल कलेजले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच चितवन जिल्ला फुटबल संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उनकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगितामा नाफा नभए स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार प्रतियोगिताबाट अपेक्षित रकम नबचेँको खण्डमा उनिहरुले स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने छन् । यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि उनिहरुले नगद ३ लाख रुपैयाँ सहयोग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !