काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभयो ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ उहाँले भन्नुभयो “भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।”

नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गर्नुभयो । अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको उनको आरोप छ । कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्‍याउनुभयो । “नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।” उहाँले भन्नुभयो ।

देउवाले महिला मतदातालाई कांग्रेसमा आकर्षित गराउनुपर्नेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !