चितवनः चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहा मात्रै सम्झने पर्यटकहरु अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जंगली जनावर पश्चिम तर्फ केन्द्रीत हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकहरुको रोजाई यसतर्फ हुन थालेको हो ।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनु भएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिलेपहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताउनुहुन्छ । उहाँको भनाईमा सौराहा जत्तीकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् । देशको जंगल सफारी गर्ने पर्यटकका लागि चितवन पहिलो रोजाई हो ।

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार हो । यहाँबाट राप्ती किनार हुँदै निकुञ्ज छिर्ने गरिन्छ । त्यसैगरी पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौली लगायतका ठाउँहरुबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गर्ने गरिन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैंडा कसराको पश्चिम तर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैंडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जंगल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाई हुने गरेको छ भने विशुद्ध जंगल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाई छ ।

पर्यटन विज्ञ विश्व सुवेदी विगत वर्षहरुको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिम तर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएका मध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पश्चिम तर्फ बसेको तथ्यांक छ । गत वर्षमा पश्चिम चितवन जाने पर्यटकको संख्या १५ प्रतिशत पुगेको छ । वर्षेनी यो संख्या थपिंदै जाने उहाँको आँकलन छ ।

जिल्लामा वर्षेनी दुईलाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । सुवेदी जिल्ला भित्रिने पर्यटकको ३८ प्रतिशत हाराहारी दोहोरिने गरेको र उनीहरुले सधैं एउटै ठाउँभन्दा फरक ठाउँ रुचाउने गरेको बताउनुहुन्छ । उहाँको भनाईमा जिल्लामा पर्यटकीय होटलको संख्या २१५ छ । ११० सौराहामा छन् भने अन्य जिल्लाका विभिन्न ठाउँमा रहेका छन् । सौराहाबाट दैनिक ३२ वटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन भने पश्चिम चितवनबाट आठ वटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झै पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ । जंगल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको संख्या बढ्दै गएको सुवेदीको भनाई छ । ठूला होटलहरु पटिहानी, जगतपुर र मेघौलीमा रहेका छन् ।

यस वर्ष घुम्नका लागि विदेश जान नपाएका नेपालीहरु पश्चिम चितवन आउन थालेको सुवेदीको भनाई छ । निकुञ्ज स्थापना भएसँगै बि.सं. २०३० सालपछि सौराहा क्षेत्रमा होटल शुरु भएका हुन् । क्रमशः निकुञ्जका आसपासका अन्य क्षेत्रमा पनि पर्यटकीय होटल खुल्ने क्रम शुरु भएको हो । निकुञ्जभित्र रहेका सात वटा होटल भने बन्द भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महत्व कहिल्यै पनि नघट्ने भए पनि चुनौती भने थपिंदै गएको बताउनुहुन्छ । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाई लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हिजोको हिसाबले चलेर पुग्दैन भन्नेमा हामी सचेत छौं ।”

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झै गुनासो समेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरुमा विदेशीलाई मात्रै पर्यटकको रुपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटक केन्द्रीय पर्यटकीय गतिविधिहरु शुरु गरिएका छन् ।

पर्यटन प्रबद्र्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार त्यहाँ रहेको अम्रेलास्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् । यसका अतिरिक्त रात बसेर जंगल सफारी गर्न आउनेहरुको संख्या समेत दिनहुँ बढ्दै गएको छ । यसकै कारण पश्चिम चितवनको राप्ती र नारायणी किनारमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई पारेर पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको छ । मेघौलीमा मात्रै रु.३ करोड ५० लाख खर्च गरेर राईनो पार्क बन्दैछ । देशकै एक सय पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचिकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भईरहेको छ ।

भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रीत भएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्दछ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन् केन्द्र रहेको छ । यहाँ पनि ठूलो संख्या पर्यटक जाने गरेका छन् ।

यस निकुञ्ज आउने पर्यटक दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही जस्ता जनावरसँगै चराचुरुङी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहत र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको माग अनुसारका खानासँगै संस्कृति हेर्न पाईन्छ । यससँगै होमस्टे (घरबास)मा रमाउन चाहनेहरुका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !