
चितवनः वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा संचालन गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा ईमेजिङ विभाग अन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अति आवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याईएको हो ।
मेसिन संचालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधिहरु नियमित भएको डा. गौतमले जानकारी दिनुभयो । न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसबाट बिरामीको विभिन्न अंगको गहन जाँच हुन्छ । लगभग सबै अंगको जाँच गर्न मिल्छ ।
मस्तिष्क, घाँटीको थाईराईड, मुटु, फोक्सो, मृगौला, कलेजो, हड्डीको जाँच हुने उहाँले जानकारी दिनुभयो । हड्डीमा संक्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ । अन्य कुनै क्यान्सर हड्डीमा फैलिएको छ कि छैन भन्ने पनि यसबाट पत्ता लगाउन सकिन्छ । यससंगै बिरामीहरु लाभान्वित भएका छन् । बिगत एक वर्ष यता सो मेसिन बिग्रिएर थन्किएको थियो ।