चितवनः नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल कम्युनिष्ट पार्टी हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले सरकार र सो पार्टीका बिचमा भएको सहमतीलाई सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “मुलधार र शान्तिको बाटोमा आउनु त ठिकै हो । सहमतीमा के कुराहरु छन् गर्भमा भन्ने हामीलाई थाहा छैन ।” ती कुरा बिस्तारै जान्दै जाउँला भन्दै उहाँले हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनुलाई राम्रो मान्नुपर्ने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले प्रतिनिधि सभा वैठक सुचारु भए पछि काङ्ग्रेसले आफ्नो धारणा बनाउने बताउनुभयो । उहाँले सरकारमा जानु परेमा आफ्नै नेतृत्वमा मात्रै जाने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो उपस्थिति बिना सरकार बन्न नसक्ने अबस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौ ।” सरकार बनाउन काङ्ग्रेसको आबश्यकता परेमा मात्र सरकारमा जाने उहाँले स्पष्ट पार्नु भयो । नेपाल कम्युनिष्ट पार्टी बिधिबत रुपमा एकै भएकाले अहिलेनै काङ्ग्रेसले धारणा वनाउने वेला नभएको महतको भनाई थियो ।
काङ्ग्रेसले हतारमा निर्णय नगर्ने भन्दै उहाँले भन्नुभयो “काङ्ग्रेस काङ्ग्रेसतिरै लाग्छ अरु तिर लाग्दैन ।”

प्रतिक्रिया दिनुहोस !