चितवनः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा प्रचण्ड–नेपाल समुहलाई सहयोग गर्न सकीने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले काङ्ग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो “काङ्ग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ ।” उहाँले थप्नुभयो “ यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।” प्रधानमन्त्री केपी ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदिने भन्दै उहाँले उहाँ बाहेकलाई सहयोग गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “ओलीले देशलाई जुन जोखिममा पार्नुभयो, व्यवस्था र संबिधानलाई जोखिममा पार्ने व्यक्तिलाई अहिले काङ्ग्रेसले सहयोग गर्न नैतिकताले दिदैन ।”
प्रधानमन्त्री बन्न काङ्ग्रेस सभापति शेरवहादुर देउवलाई सजिलो नभएको भन्दै उहाँले प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने? कांग्रेस बाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन ।”

आज हुने पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक आँफुले माग गर्ने भन्दै उहाँले नितिगत निर्णय गरेर अघि वढ्नुपर्ने अबस्था देखिएको बताउनुभयो । पौडेलले भन्नुभयो “सरकारमा जाने, किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाै ।” भद्रगोलको अहिलेको राजनिति काङ्ग्रेसले सम्हाल्नु पर्ने उहाँको भनाई थियो । पत्रकारको एक प्रश्नमा उहाँले भारत, चीन र अमेरीकालाई कम्फरटेवल होइन नेपालको सिस्टमलाई कम्फरटेवल हुने गरि सरकार बन्नुपर्ने बताउनुभयो ।

आँफुले प्रधानमन्त्री र राष्ट्रपति हुनका लागि प्रस्ताब आउँदा अस्विकार गरेको भन्दै उहाँले व्यवस्था प्रभाबित गर्ने गरि आँफुलाई कुनै पद नचाहिएको बताउनुभयो । अहिलेकै अबस्थाको राष्ट्रपति पद भने आँफुलाई कहिल्यै नचाहिने बताउनुभयो । आँफु क्रियाशिल भूमिकामा बाँचुन्जेल रहने पौडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !