टिस्टुङ, २० फागुन । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन् ।

नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये छ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए । बाह्र वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ । त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको देखिएको छ । सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ मकवानपुरले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस !