चितवनः निरन्तर मिहिनेत ग¥यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी बिनोद पोखरेलले देखाउनु भएको छ । पूर्वी चितवनको रत्ननगरका पोखरेलको २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।

कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उहाँको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यस अन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुनुहुन्छ ।

बि.सं. २०५१ सालमा आफ्नै काकासँग मिलेर काठमाण्डौंमा पोल्ट्री फार्म शुरु गर्नुभएका पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्म संगै ट्रेडिङको व्यापार शुरु गर्नुभएको थियो । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उहाँले व्यवसाय शुरु गर्नुभयो । त्यसको केही वर्षपछि बि.सं. २०६३ सालमा चितवनमा उहाँको व्यवसाय विस्तार भयो । साझेदार हुुनुहुन्थ्यो राजकुमार गुरुङ । पोखरेलले सम्झना गर्नुभयो “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा. टिका पोख्रेलको लगानीको साझेदारी पोल्ट्री फर्मलाई पोख्रेल आफ्नो व्यवसायको सुरुवाती भन्नुहुन्छ ।

गुरुङसँग साझेदारी हुँदा उहाँहरुले रु.५० लाख लगानी गर्नुभयो । आजसम्म आईपुग्दा उहाँको नेतृत्वको कम्पनीहरुमा लगानी रु.२ अर्ब ६० करोडभन्दा बढी पुगेको छ । जसमा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा एक सय २० जनाभन्दा बढी साझेदार छन् । यद्यपी पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । जसका कारण निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाउनु भएको छ ।

विगतलाई सम्झँदै उहाँ भन्नुहुन्छ “चितवनमा दाउन्ने ट्रेडस शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।” उहाँहरुको कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानकोबाट अण्डा उठाउने गर्दथ्यो । यसकै दौडानमा काठमाण्डौंमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याउनुभयो । झण्डै १० जना साझेदार पुगेपछि आफैले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उहाँको योजना बन्यो । यसै अन्तर्गत बि.सं. २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकोमा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।

पोखरेलको भनाईमा नेपालको सबैभन्दा ठूलो मास दाना उहाँहरुकै हो । त्यसो त किसान दानासँगै बि.सं. २०७० सालबाट उहाँहरुकै अगुवाईमा दाउन्ने भेट शुरु भयो । जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफना किसानहरुले औषधि पाएको पोखरेल बताउनुहुन्छ ।

व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबास स्थित बिनयी त्रिवेणी गाउँपालिकामा ३६ विगाहा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म शुरु गरेको छ । जर्मन र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल २ लाख कुखुरा रहेका छन् । एक वर्ष भित्रमा दुई लाख थप गरी चार लाख कुखुरा पु¥याउने उहाँको लक्ष्य रहेको छ । त्यसो त तीन वर्षभित्र यो संख्या आठ लाख पु¥याउने पोखरेल बताउनुहुन्छ । त्यतिबेला उहाँहरुको लगानी रु.४ अर्ब ५० करोड पुग्नेछ । पोखरेलले भन्नुभयो “विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौं ।” त्यही प्राङ्गारीक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।

पोखरेलका सबै कम्पनीमा एक सय २० जना हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनी संग व्यवसाय र रोजगारीमा जोडीएका छन् । १८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारीहरु अधिकांशको धेरथोर शेयर रहेको छ । पोखरेल भन्नुहुन्छ “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना व्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” रु.५ लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको शेयर राख्न पाउने व्यवस्था उहाँको कम्पनीमा छ ।

पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पु¥याउनु भएको छ । उहाँको भनाईमा अब एक वर्ष ६ महिनाभित्रमा देशका तीस वटा जिल्लामा आफ्नै बिक्री केन्द्र पु¥याईदै छ । हालसम्म काठमाण्डौं, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफै उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पु¥याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक ३ लाख ६८ हजार पाँच सय वटा अण्डा संकलन हुन्छ । जसमध्ये १ लाख ६८ हजार वटा अण्डा आफ्नै फार्मको हो ।

पोखरेलको भनाईमा उहाँले नेतृत्व गरेको कम्पनी किसानको अण्डा संकलन गर्ने र आफ्नै फार्मको उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो संस्था हो । त्यसो त मास दानामा पनि उहाँको कम्पनी सबैभन्दा ठूलो हो । आफूलाई चाहिने लेयर्स चल्ला यस कम्पनीको लगानी रहेको ब्राउण्ड वर्ड ह्याचरीबाट ल्याउने गरिन्छ । क्रेट आफ्नै लगानीको चितवन ट्रे को प्रयोग हुन्छ भने औषधि आफ्नै पसल (दाउन्ने भेट) बाट प्रयोग गरिन्छ । जसका कारण उत्पादन लागत कम र मुनाफा बढी हुने गरेको पोखरेल बताउनुहुन्छ । कुखुरा व्यवसायमा सफल पोख्रेल पोल्ट्री संग सम्बन्धित सबै जसो संघ संस्थामा निर्णायक भूमिकामा रहनु भएको छ ।

निरन्तरको संघर्षबाट ४५ वर्षमा मिलेको यो सफलता धेरैका लागि पाठ हुन सक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उहाँलाई सफलता चुम्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस !