
चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोक सभामा बोल्नुहुँदै उहाँले अहिले नेपाली काङ्ग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसदमा छ त्यसै अनुसार अघि वढ्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “बिपक्षी दलको सही भूमिका नेपाली काङ्ग्रेसले निर्वाह गर्नु पर्छ ।”
सानो संख्यामा संसदमा भए पनि काङ्ग्रेसको भूमिका ठूलो र जिम्मेवारी पूर्ण रहेको उहाँको भनाई थियो । काङ्ग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरि संसदमा बलियो पार्टी बन्ने पनि बताउनुभयो ।
स्व. एकनाथ रानाभाटले निष्ठावान रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नु पर्छ भन्नुभयो । आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको काङ्ग्रेस मात्र रहेको भन्दै उहाँले भन्नुभयो“काग्रेसले त्यही अनुसारको आचरण र व्यवहार देखाउनु पर्छ ।” बिकृतिबाट लोकतन्त्रलाई बचाउनु पर्ने उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो “बास्तबमा कसैले आफ्नो हैसियत र औकात भन्दा बढी आकंक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।”
लोकतन्त्रमाथी देशी विदेशी षड्यन्त्र भइरहेको पनी उहाँले बताउनुभयो । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सह्रानीय रहेको बताउनुभयो । कार्यक्रममा पूर्ब सभामुख तारानाथ रानाभाट, नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेशका प्रतिपक्षि दलका नेता कृष्णचन्द्र नेपाली, वागमती प्रदेशका प्रतिपक्षि दलका नेता इन्द्र बानिया, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस नवलपरासीका सभापति बिष्णु सापकोटा र नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले रानाभाटको राजनैतिक भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।
रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उहाँ प्रतिनिधि सभाका पूर्ब सांसद हुनुहुन्थ्यो ।