
काठमाडौंः नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।
मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भन्नुभएको थियो ।
अस्पताल लैजाँदा गाडीमा बोलिरहनुभएका उहाँ अस्पताल पुग्दा बोहोस भइसक्नुभएको थियो । सिटी स्क्यान गरेर हेर्दा ठाउँकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।
उहाँको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा.राजीव झा का अनुसार उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।
सास फोर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा.झा भन्नुहुन्छ “हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुलेको मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।”
सिटी स्क्यान गर्दा रगत दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा पुगेर ब्लक गरेको पाइएको डा. झाले बताउनुहुन्छ । सुगर, प्रेसर लगायतका रोगबाट समेत पीडित उहाँले रगत पातलो बनाउने औषधि खाइरहनुभएको थियो । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उहाँले बताउनुभयो ।
डा. झाका अनुसार अहिलेसम्म १२०–१३० मिलिलिटर पानी निकालिएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०र७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झाले भन्नुभयो “उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।”
उहाँका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने छ।