
चितवनः उपप्रधानमन्त्री इश्वर पोख्रेलले निर्वाचनमा सबै दलहरु सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । भुरतपुर बिमानस्थलमा आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले अहिले जस्ले जे भने पनि समय आए पछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको हो ।
निर्वाचनसंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको भन्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको बताउनुभयो । अर्थमन्त्रालयले आबश्यक वजेट निकाशा गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “राजनैतिक दलहरु निर्वाचनमा जाने कुरा जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।”
निर्वाचन निर्धारित समयमानै हुने उहाँको भनाई थियो । निर्वाचनको बिषयमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचन हुन्छ की हुँदैन भनेर आशंका गर्नु पर्ने कामै छैन । बिल्कुल हुन्छ । निर्धारित समयमानै हुन्छ ।” कहि कतै कोही कोही व्यक्ति, पक्षहरुले खवरदार निर्वाचन गरौला, निर्वाचन कार्यक्रम सार्वजनिक गरौला भन्ने जस्ता कुराहरु वाहिर आएको भन्दै उहाँले यी सबै हास्यापद रहेको टिप्पणी गर्नुभयो । उहाँले थप्नुभयो “लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडी वढ्न चाहाने हर कोहीले यसको बिपक्षमा उभिनु पर्ने आबश्यकता छैन ।”
अर्को एक प्रसंगमा उहाँले पार्टी एकताको समयमा भएको प्रबन्धका आधारमा निर्वाचन आयोगले पार्टीको आधिकारीकता टुङ्गो लगाउने बताउनुभयो । संसद विघटनको बिषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने भन्दै उहाँले फैसलाको प्रतिक्षा गर्नु पर्ने उहाँको भनाई थियो । सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो “सरकारले कुनै दवाव दिदैन । बिधि सम्बत ढङ्गले काम अघि वढाउँछ ।”