
चितवनः भरतपुरको एक सरकारी विद्यालयको प्रशासनिक काम भ¥याङमुनिबाट हुदै आएको छ । भरतपुर–५ विकासचोकदेखि पश्चिम गुलाफबागमा रहेको भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालय प्रशासनिक भवन विहिन छ । विद्यालयमा ३ भवनका १० कोठामै कक्षा कोठा राख्नुपरेपछि प्रशासनिक काम गर्न विद्यालयलाई कोठा अभाव देखिएको छ ।
२०४५ सालमा स्थापना भएको विद्यालयमा केही वर्ष यता विद्यार्थी चाप बढेको छ । यही सरस्वती पुजामा ३९ जना नयाँ विद्यार्थी थपिएपछि विद्यालयको अफिसमा कक्षा ५ को पढाई हुन थालेको छ । ३ कोठामा नर्सरीमा १ सय २७ विद्यार्थी छन् । २०७२ सालमा विद्यालयमा ५१ मात्रै विद्यार्थी भएपछि विद्यालय मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले हाल विद्यालयमा ३ सय ३४ जना विद्यार्थी रहेको बताउनुभयो । “बोर्डिङ छाडेर यो वर्ष ५० विद्यार्थी थपिएका छन्”, उहाँले भन्नुभयो, “पढाई राम्रो हुन थालेपछि विद्यार्थी आकर्षण बढेको छ ।”
विद्यालयले थप कक्षा कोठा निर्माण गर्न बजेट अभाव देखिएको जनाएको छ । “विद्यार्थीको चाप अनुसारको कक्षा कोठाको अपुग छ”, उहाँले भन्नुयो, “अफिसको सामान सारेर नजिकैको मन्दिरमा राखेका छौँ, केही दराज कक्षा ४ र ५ मा राखेका छौँ ।” यो विद्यालयमा कक्षा ५ सम्मै अंग्रेजी माध्यममा पढाई हुन्छ । स्कुल ड्रेस, टाई, बेल्ट, स्कुल व्याग अनिवार्य गरिएको छ । विद्यार्थी ल्याउन पु¥याउन स्कुल बस र म्याजिक सञ्चालन गरेको छ । निःशुल्क यातायातको सुविधा दिएको छ । विगतमा आसपासमा अस्थायी बसोबास गर्नेका बालबालिकामात्रै पढ्न आउने गर्थे ।
हाल विद्यालयमा स्थायी ठेगना भएका अभिभावकले समेत विद्यार्थी पढाउन भर्ना गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गिय लालबहादुर सुवेदीका छोरा पूर्व विद्यार्थी अमिर सुवेदीले विद्यालयलाई मासिक ९८ हजार रुपैयाँ सहयोग विगत ३ वर्षदेखि गर्दै आउनुभएको छ । अमिरलेनै उपलब्ध गराउनुभएको रकमबाट स्कुल बसको भाडा, विद्यार्थीलाई स्कुल व्याग दिने गरिएको छ भने निजि स्रोतका केही शिक्षकलाई समेत तलब दिइएको छ । अमिर हाल अमेरिकामा हुनुहुन्छ । “अमिरले ५० वटा ल्यापटप प्याक गरेर पठाउन खोज्नुभएको छ”, उहाँले भन्नुभयो, “कोठा नहुदा सहयोग पठाउनु भन्न सकेका छैनौँ ।” विद्यालयमा ४ जना दरवन्दीका र निजी स्रोतका ६ जना शिक्षकहरु कार्यरत छन् ।
विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत भवन बनाउन भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखामा एक महिना पहिले प्रस्ताव पेश गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा ४ कोठे नयाँ भवन बनेको छ । सो भवनको असार २९ गते शिलन्यास गर्ने क्रममा भरतपुरका मेयर रेनु दाहालले आफ्नै कार्यकालमा ४ कोठे भवन निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष निलकण्ठ अधिकारीले विद्यालयमा थप कोठा निर्माण गर्न बजेट व्यवस्था गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“मर्ज हुने क्रममा रहेको विद्यालय अहिले सबैको रोजाईको बनेको छ”, उहाँले भन्नुभयो, “कोठा नहुदा थप विद्यार्थी राखेर पढाउन सक्ने अवस्था छैन, तत्काल कोठा बनाउन महानगरले चासो दिनुपर्छ ।” गत वर्ष धनधान्यञ्चलनै गरेर १ करोड बराबरको अक्षकोष स्थापना गर्ने योजना बनेपनि त्यो योजना बीचमै अलपत्र परेको थियो । विद्यालयमा कम्पाउण्ड वाल नहुदा कुकुर, स्याल विद्यालय चौरमै आउने जोखिम छ । विद्यालयले ४ कोठा थप भएमा अफिस, लाइब्रेरी, कम्प्युटर ल्याव, किचन व्यवस्था गर्न सजिलो हुने जनाएको छ ।