
चितवनः चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा समस्या भएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच वटा कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध समेत फैलिएको उहाँले बताउनुभयो ।
हाल यहाँको भण्डारणमा गैंडाको खाग १४९ थान, गैंडाको खुर १२८६ थान, बाघको छाला १६ थान, चितुवाको छाला ९३ थान, रेडपाण्डाको छाला ४४ थान, हात्तीको दाह्रा ४११ थान र चिरुको रौं ७५ बोरा रहेको छ । त्यसैगरी कस्तुको बिना ११ थान, सालकको खपटा २४१ किलो, बाघको हड्डी ९५ किलो, भालुको पित्त १९ किलो, चरि बाघको छाला ४ थान, अजिङ्गरको छाला ३ थान, हिउ चितुवाको छाला २ थान र गोहीको छाला ३ थान रहेको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी खागमा किरा लागि बिगारेको, केही खागहरुको अवशेष मात्रै बाँकी रहेको, छाला तथा अन्य आखेटोपहारहरु अधिकांश ओसको कारणले कुहिसकेको र बाँकी कुहिने अवस्थामा रहेको बताउनुहुन्छ ।
देशका बिभिन्न स्थानमा चोरी शिकार तथा प्राकृतिक कारणले मरेका वन्यजन्तुको आखेटोपहार यहाँ ल्याउने गरिन्छ । त्यसैगरी तस्करहरुबाट बरामद गरिएको वन्यजन्तुहरुको आखेटोपहारहरु पनि यही ल्याईन्छ ।
आखेटोपहारहरु थपिदै जाने, भण्डारण गर्ने स्थानको उचित ब्यबस्था नहँुदा समस्या भएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । बि.सं. २०७४ सालमा मन्त्री परिषद्को निर्णय गरेर निकुञ्जमा ठूलो मात्रामा आखेटोपहारहरु जलाएर नष्ट गरिएको थियो । त्यसपछि प्रत्येक ५ बर्षमा कार्य बिधि बनाएर नष्ट गर्ने भनिएको र ५ बर्ष लामो समय हुने भएको कारण त्यो भन्दा छिटै नष्ट गरिनु पर्ने बराल बताउनुहुन्छ ।
आखेटोपहारको कुनै मूल्य नभएको कारण यसलाई केन्द्रीय स्तरको आखेटोपहार ब्यबस्थापन समूहभन्दा स्थानीस्तरको कार्यदल बनाएर चाडो चाडो नष्ट गरिदै जानु पर्ने बरालले सुझाव दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य संकलनको अवस्था हेरेर समय समयमा जलाएर व्यवस्थापन गर्नुपर्ने देखिएको बताउनुहुन्छ । यसको भण्डारण जटिल हुने भन्दै उहाँले छिटोछिटो सरकारी स्तरबाट निर्णय गरी व्यवस्थापन गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।