
चितवनः प्रजातन्त्र दिवसको अबसरमा कारागार कार्यालय भरतपुरमा रहेका १३ जना कैदीले आम माफि पाएका छन् । जस मध्ये ३ जना शिव पौडेलको हत्यामा संलङ्न भई २० वर्ष कैद सजाय भोग्दै आएका रहेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गर्नु भएको थियो । कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुलको ५० प्रतिशत कैद मिनाह गरिएको हो ।
वि. सं. २०६८ पुसमा जिल्ला कारागार भरतपुर भित्र तत्कालिन तरुण दलको अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । उनको हत्यामा फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसी समलग्न रहेका थिए ।
उनीहरुलाई सो मुद्धामा २० वर्ष कैद सजाय फैसला भएको थियो । तर, कारागार भित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले आम माफीको सिफारिस गरेको पाइएको छ ।
‘उहाँहरु ३ जना नै आज रिहा भएका छन् । चितवन कारगारका जेलर कमल काफ्लेले भन्नुभयो ,‘उहाँहरुले जेल प्रशासनलाई सहयोग गरेको पाइयो । त्यही आधारमा सिफारिस भएको हो ।’
जेलभित्रै हत्या गर्ने मान्छे भए पनि ततकालिन कानुन अनुसार छुट पाउने व्यवस्था रहेकाले सोही अनुसार सिफारीस गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको हो । राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
पौडेलको हत्यामा समलग्नहरु तत्कालिन नेकपा एमाले निकट युवा संघका कार्यकर्ता रहेको त्यतिबेला नै सार्वजनिक भएको थियो । उनीहरु शिवकै भाईको हत्या अभियोगमा सजाय भई कारागार चलान भएका थिए ।