
चितवनः भरतपुरमा रहेको नेपाली सेनाको कालिवहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षण सम्बन्धी स्थानीय संग छलफल गरेको छ । यस संगै सो क्षेत्रको सरसफाई गरिएको छ ।
गणका निमित्त गणपति सेनानी पदम वहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाहरु बिच मंगलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाई गरिएको हो । सो अबसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बमवहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिब गणेश वहादुर थापा, वालकुमारी टोल बिकास संस्थाका अध्यक्ष अमर वहादुर गुरुङ् लगाएतले उपरदाङगढीको ऐतिहाँसिक महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो अवसरमा सेनानी वासु खत्री, बिक्रम अधिकारी सहितको उपस्थिति रहेको थियो ।
सन १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व बिभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु रहेका थिए ।
तत्कालिन दाहाखानी गाउँबिकास समितिमा पर्ने सो स्थान सामुन्द्रिक सतह देखि १२७५ मिटर उचाइमा रहेको छ । वाइसे–चौविसे राज्य एकिकरणका समयमा अंग्रेज फौज बिरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन १८०० को सुरुवातमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको जनविश्वास रहेको छ । सो स्थानमा तीन फुट चौडाई तथा ६ फुट उचाई भएको प्रबेशद्धार, कोत घर, कालिका र सिद्धवावाको प्रतिमा, इनार लगाएतका संरचनाहरु रहेका छन् ।
ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको वाहिरी भागको मोटाइ तीन फिट रहेको छ । यस स्थलमा ९ वटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने ९ वटा खुल्ला झ्यालहरु वनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिब र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङले जानकारी दिनुभयो । गढीको प्रबेशद्धारमा गणेशमन्दिर रहेको छ । वज्रयोगिनी, वालकुमारीदेवीको मन्दिर पनि संगै रहेको छ ।
नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।