चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग कसैको गोटी वन्न नहुने बताउनुभएको छ । प्रेस संगठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले ४ सय ४१ केन्द्रीय सदस्य आयोग आँफैले भनिसकेकाल त्यसको वहुमतलाई मान्यता दिनुपर्छ ।
उहाँले भन्नुभयो “निर्वाचन आयोग कसैको गोटी हुनुहुँदैन भन्ने मलाई लाग्छ ।” बहुमतलाई नै मान्यता दिनेमा आफूहरु विश्वस्त रहेको उहाँको भनाई छ । उहाँले निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह फ्रिज नगर्ने बताउनु भयो । उहाँले बहुमत सदस्य आँफुहरु संग रहेकाले चुनाव चिन्ह फ्रिज गर्न नमिल्ने बताउनुभएको हो ।

अहिलेको सरकारले निर्वाचन नगराउने बताउँदै उहाँले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने बताउनुभयो । संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने उहाँको दावी छ । आफू शान्तिपूर्ण राजनीतिमा रहने कुरा पक्का भएको उहाँले प्रष्ट्याउनुभयो ।

संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उहाँको भनाई थियो । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो “प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।”

पत्रकारहरुको एक प्रश्नमा छिट्टै संयुक्त आन्दोलन हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “शेरबहादरजीसँग कुरा गरेँ, संयुक्त आन्दोलन शुरु गरौं, केहीदिनमा नै फाईनल हुन्छ, टुंगिन्छ भनेको छु ।” कांग्रेसकै नेता रामचन्द्र पौडेल र जसपाका नेताहरुसँग पनि संयुक्त आन्दोलनको विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ, गुटमा भएकाले बोल्न केही समस्या भएको हो ।” उहाँले अगाडि थप्नुभयो “कतिपयले मसँग त्यस विषयमा गुनासो गरिरहेका छन् । बाँकी रहेको दुई वर्षे कार्यकाल त्यसै गुमाउन उहाँहरुले पनि चाहनुभएको छैन ।”

नेपालमा सकारात्मक ढंगले सोच्ने संविधानको रक्षाका पक्षमा रहेका राम्रो दिमाग भएका व्यक्तिहरु प्रधानमन्त्रीको संसद विघटनको विरोधमा रहेको दाहालको भनाई थियो । उहाँले प्रधानमन्त्री पक्षधरबाहेक सबैले खुलेर विरोध गरिरहेको बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. १० मा बन्दै गरेको सिटीहलको निरीक्षणपश्चात् उहाँले प्रधानमन्त्री केपी ओलिले शिलन्यास गरेकोमा चित्त दुखाई गर्नुभयो । यो आयोजना यहाँ बन्न रोकेको तर पछि आफै आएर शिलन्यास गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । दाहालले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको दावी समेत गर्नुभयो ।

आफ्नै निर्वाचन क्षेत्रको माडीमा अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्न उहाँले चुनौती दिनुभयो । उहाँले भन्नुभयो “प्रचण्ड सिध्याउनका लागि त्यो अभियान चलाईएको हो ।” पुरातात्विक अन्वेषणबाट यो प्रमाणित भएमा सबैभन्दा खुशी आफै हुने उहाँको जीकिर थियो ।

प्रतिक्रिया दिनुहोस !