बुटवलः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उहाँको आशंका छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताउनुभयो । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उहाँले अदालतको निर्णय पर्खिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।”
नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गनुभयो । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भन्नुभयो “निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।”
उहाँले अघि थप्नुभयो “ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।”
निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उहाँले बताउनुभयो । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उहाँले भन्नुभयो “निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।”
साथै उहाँले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गर्नुभएको छ । कांग्रेस सभापति देउवाले अघि भन्नुभयो “किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?”
सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उहाले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गनुभयो । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने उहाँको आशंका छ ।