चितवनः नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद पुर्नस्थापनाको नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेसको एजेण्डा संबिधान जोगाउने रहेको बताउनुभयो ।
उहाँले संबिधान काङ्ग्रेसको मात्र विधान नभएर सिंगो देश एक भएर लेखिएको दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो “संविधानमा काङ्ग्रेसको असहमतिहरु भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीहरुलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो । उहाँले अदालतले पनि संविधान पढ्नुपर्ने विचार जिकिर गर्नुभयो ।
पूर्ब मन्त्री थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभयो । कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिदै उहाँले भन्नुभयो “मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्” उहाँले थप्नुभयो “कसैको आमसभा, विरोध सभा नहेरियोस्, संविधानको धारामात्रै हेरियोस् ।”
वर्तमान सरकारले चुनाव गर्नै नसक्ने उहाँले बताउनुभयो । संसद पुर्नस्थापना हुन्छ भन्दै उहाँल् पुर्नस्थापित संसदलेमात्रै देशलाई चुनावमा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो,“देशलाई संकटबाट कांग्रेसलेनै बचाउँछ, हामी सम्हाल्छौँ ।” प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलमा आउन गरेको आग्रह प्रति लक्षित गर्दै उहाँले भन्नुभयो,“फेरि काङ्ग्रेस मैदानमा आउनुपर्छ भनेछन्, तर ३ वर्ष पहिले यही चितवनमै आएर कांग्रेस चाहिदैन भनेको भुलेका छैनौँ ।”
आफ्नै नेताहरुले एकअर्कालाई गाली गरेको देखेर नेकपा कार्यकर्ता विक्षिप्त बनेको उहाँले दावी गर्नुभयो । कसले धेरै खायो कसले खान पाएन भन्दै लडेर करिब दुई तिहाई मतलाई नै संकटमा धकेलेको उहाँको जीकिर थियो ।
सभामा अर्की केन्द्रिय सदस्य सरिता प्रसाइले देश अप्ठ्यारोमा पर्दा काङ्ग्रेसलेनै निकास दिएको बताउनुभयो । कम्युनिस्टका चार प्रधानमन्त्रीहुँदा पनि नबनेको संविधान सुशील कोइरालाको नेर्त्ृत्वमा बनेको भन्दै काङ्ग्रेसलेनै निकास दिने बताउनुभयो ।
वर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाइ अस्थीरतमा पु¥याएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “गरिव जनताले उपचार गर्न पाएका छैनन, उहाँहरु सत्ताको दुरुपयोग गर्दै आमसभा गर्दै हिड्नुभएको छ ।”
नेकपाको दम्भ र झगडाले देश संकटमा पुगेको उहाँको भनाई थियो । काङ्ग्रेस नेतृ प्रसाइले प्रचण्डलाई शान्ती सम्झौता गरेर संसदमा हुलेको ईतिहास नभुल्न आग्रह समेत गर्नुभयो । प्रचण्डले पटक पटक धोका दिएको काङ्ग्रेसले नभुल्ने दावी गर्नुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले काङ्ग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दावी गर्नुभयो । बिरोध सभा अघि काङ्ग्रेस चितवनले हाकिमचोकको केन्द्रिय बस ट्रमिनल देखि चौबिसकोठी सम्म बिरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !