
चितवनः सधैं उतारचढाव भईरहने कुखुराको अण्डाको मूल्य यतिबेला घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।
हिन्दूहरुको पवित्र स्वस्थानी व्रतकथा शुभारम्भभएसँगै उपभोग घटेको छ । कोरोना संक्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको संख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उहाँको भनाई छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष ६ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उहाँको भनाई छ ।
मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन् । संघले माघ २६ गतेबाट लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम रु.३०० कायम गरेको छ । यस अघि ठूलो अण्डाको दर रु.३६० र मध्यम अण्डाको रु.३४० सम्म पुगेको थियो । केसीले भन्नुभयो “उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।”
यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाई छ । अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु.११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताउनुभयो । उहाँका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै रु.एक प्रतिगोटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ ।
उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन् । उपभोक्ताले भने रु.१५ मा अण्डा खरिद गर्न बाध्य छन् । विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महंगो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो “संघले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।”
संघका उपाध्यक्ष समेत रहनु भएका किसान किरण ओलि बजारमा अण्डाको माग भईरहेको भए पनि व्यवसायीहरुको चलखेलका कारण मूल्य घटेको बतताउनुहुन्छ । उहाँले भन्नुभयो “म सस्तोमा अण्डा बिक्री गर्दिन भन्दा मसँग एक हजार पाँच सय पेटी अण्डा थन्किएको छ ।” अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उहाँले आरोप लगाउनुभयो ।
घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको उहाँको भनाई छ । दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकोमा यो संख्या घटेर एक हजार ७०० मा झरेको उहाँले जानकारी दिनुभयो । ओलिले भन्नुभयो “साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।”
हाल दैनिक देशभरमा ३२ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिना अघिसम्म यो संख्या २६ लाख हाराहारी रहेको संघले जनाएको छ । नेपालमा कुखुराजन्य क्षेत्रमा रु.१ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् ।