चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नहुने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले चुनाव नहुने प्रष्ट रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।” लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धी अहिले धरापमा रहेको भन्दै उहाँले भन्नुभयो “हामी सबै मिलेर यसलाई परास्त गर्नुपर्छ ।” आम नेपाली जनता र राम्रो दिमाग भएको मान्छे यो कदमको विरुद्धमा रहेको उहाँको दावी थियो । उहाँले अगाडि भन्नुभयो “यो कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन ।”
संविधान मिचिएको र लोकतन्त्रमाथिनै प्रहार भएकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा रहेको भन्दै उहाँले भन्नुभयो “पञ्च¥याली जम्मा गर्ने, जमिन बाढ्छौं भनेर मान्छे उतार्ने पहिले पहिले राजा महाराजाहरुले गर्थे, अहिले प्रधानमन्त्रीले गर्नुभएको छ । त्यसको कुनै अर्थ छैन ।”
प्रधानमन्त्री केपी ओलिलाई लक्षित गर्दै उहाँले भन्नुभयो “उहाँले जतिबेला प्रतिगमन र प्रतिगमनको बाटो पक्रिनु भयो, उहाँले हारिसक्नु भएको छ । मतमा पनि हार्नुहुन्छ ।” व्यवहारिक रुपमा पनि हारिसकेको दाहालको दावी थियो । विभिन्न जिल्लामा विरोध सभा भईरहेको सन्दर्भमा चितवनमा फागुन १२ गते सभा हुने र आफूले पनि सम्बोधन गर्ने दाहालको भनाई थियो ।
दाहाल आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं. ७ निवासी नरबहादुर केसीको उपचारको क्रममा आज बिहान निधन भएपछि श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आउनु भएको परिवारजनले जनाएको छ । उहाँ आजै काठमाण्डांैं फर्किने कार्यक्रम रहेको छ ।






