चितवनः जिल्लाको पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९३ दशमलब ५३ मेट्रिकटन सुन्तला कम उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १ सय ९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष जिल्लामा १ हजार ८ सय १९ दशमलब ८७ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष सोही क्षेत्रफलमा १ हजार ९ सय १० दशमलब ४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ कविलास क्षेत्रमा लगाइएको सुन्तलालाई असिना पानीले असर गरेकाले उत्पादनमा कमी आएको हो । उहाँले भन्नुभयो “यस वर्ष कविलास क्षेत्रमा सुन्तला उत्पादन हुन सकेन । असिना पानी र रोगको सङ्क्रमणले उत्पादन घटायो ।”

असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । कार्यालयका प्रमुख राजन ढकालले सुन्तलामा लाग्ने रोगका बिषयमा कृषकलाई जानकारी गराउँदा पनि रोकथामका बिधिहरुको प्रयोग कम भएका कारण उत्पादनमा कमी आएको बताउनुभयो । सुन्तलाको उत्पादन वढाउनका लागि कृषकले मलखात, गोडमेल लगायतमा ध्यान दिनुपर्ने आवश्यक रहेको उहाँको भनाई छ ।

सुन्तलाको गोलमेल, झार र किराको व्यवस्थापन जस्ता विषयमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “सुन्तला फल्ने बेलामा मात्रै हेरचाह गरेर पुग्दैन, बाह्रै महिना सुन्तला खेतीमा ध्यान दिनुपर्छ ।” उहाँका अनुसार हिउँदको समयमा सिंचाई लगायतका विषयमा पनि ध्यान दिन सके उत्पादन बढाउन सकिन्छ ।

चितवनलाई तराईको जिल्ला भनेर चिनिने भए पनि यहाँको पहाडी क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती गरिदैं आएको छ । कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्र पनि सुन्तलाका लागि उपयुक्त मानिन्छ । बिहानदेखि बेलुकासम्म घामको किरण पुग्ने पूर्व फर्किएको ठाउँमा फलेको सुन्तला स्वादिष्ट मानिन्छ । बजार क्षेत्रमा जिल्लाकै सुन्तलालाई पनि गोरखाको मनकामनाको सुन्तला भन्दै बिक्री गर्ने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस !