
चितवनः प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ आजबाट यहाँ सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सुभारम्भ गर्नु भएको हो ।
सो अबसरमा प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताउनुभयो । खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईको भनाइ छ । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उहाँले विश्वास छ ।
प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागीता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले बताउनुभयो । फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो वरियतामा रहेका खेलाडी प्रिन्स दाहाल लगायतका राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो ।
विभिन्न आठ विधामा हुने प्रतियोगितामा उमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेलहरु बिहीबार हुने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा मेन्स सिङ्गल र उमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद रु १ लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा दोस्रो हुनेले रु ५५ हजार र तेस्रो हुने खेलाडीले रु १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ ।