काठमाडौंः नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई अग्रह गर्नु भएको छ । संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उहाँले खुट्टा नकमाउन सचेत गराउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उहाँले ३० दिने हदम्याद आयोगको तर्क मात्र भएको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्वाचन आयोगका कोही कोही मान्छे….बढी नभनौ, भन्यो भने फेरि बिग्रिने हो कि भन्दै रोकिनुभएको थियो ।

तर सहभागीहरुको हुटिङपछि उत्साहित भएका उहाँले “‘७० प्रतिशत हामीसँग छ” भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताउनुभयो। प्रचण्डले भन्नुभयो “त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।”

उहाँले चेतावनी दिँदै भन्नुभयो “सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।” संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने प्रचण्डको भनाइ छ ।

आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै उहाँले भन्नुभयो “‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।”

संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको उहाँको भनाई छ । प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !