
काठमाडौंः नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनः सञ्चालन भएको छ । भोटेकोसी बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही ७ माघमा तीन साताको लागि सो नाका बन्द गरेको थियो ।
नाका संचालन भएसँगै आज बिहान सामान लोड भएका तीनवटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ संक्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।
चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।
भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलद्यिुत् आयोजनाका यान्त्तिक सामान रहेको बताइएको छ ।