
काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रूपमा सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ का कारणले भौतिक रूपमा उपस्थिति नभई रोकिएको पढाइ फागुनको अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले जानकारी दिनुभयो। उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रूपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताउनुभयो ।
कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन सुरु गरिसकेका छन् ।
ुकोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौँु, उहाँले भन्नुभयो “त्यो पनि कक्षा १२ को परीक्षाफल ढिला प्रकाशन भएकाले मात्र तीन महिना ढिला भएको हो ।” त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ ।
उहाँले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिनुभयो । “मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्” उहाँले भन्नुभयो “ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैत महिनाभित्र प्रकाशन गर्ने योजना रहेको छ ।
कोभिड–१९ का कारणले गत चैतदेखि स्थगित त्रिविको परीक्षा गत मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिविअन्तर्गत देशभरि १ हजार १२४ क्याम्पस छन् । रासस