काठमाडौंः सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड–माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।

प्रधानमन्त्री र आयोगलबी नेकपा विवादबारे कुनै छलफल नभएको पनि थापाले जानकारी दिनुभयो । उनले आयोगले माघ ११ गते गरेको निर्णय र माघ २० मा परेको निवेदनबारे सामान्य जानकारी मात्रै गराएको थापाले बताउनुभयो ।
निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस !