
चितवन: चितवन क्रिकेट संघको आयोजनामा १७ औं संस्करणको रुपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै एकदिवसीय विधा (५० ओभर)को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
प्रतियोगितामा जिल्लाभरका ६ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र गीतानगर क्रिकेट क्लव प्रतियोगितामा सहभागी हुने छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ । ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरु आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, संघर्ष पौडेललगायतका खेलाडीहरु खेल्नेछन् । यस प्रतियोगिताले युवा खेलाडीहरुको स्तरवृद्धिमा सहयोग पु¥याउने संघले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढ रहेको छ ।